पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा १० जनाको मृत्यु
काठमाडौं — अफगानिस्तानको खोस्ट प्रान्तमा सोमबार राति भएको पाकिस्तानी सैन्य कारबाहीमा १० जनाको मृत्यु भएको छ, जसमा ५ बालक, ४ बालिका र एक महिला रहेका छन्। अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानी सेनाले सीमा क्षेत्र नजिक गेरबाज्वो जिल्लास्थित स्थानीय विलायत खानको घरलाई लक्ष्य गरी आक्रमण गरेको थियो। आक्रमणबाट घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। पाकिस्तानी सेनाले पछिल्ला दिनमा खोस्ट, कुनार र पक्तिका प्रान्ततर्फ हवाई आक्रमण तीव्र पारेको पनि जनाएको छ।
तालिबान प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनास्थलका तस्बिरहरू सार्वजनिक गर्दै आक्रमणको निन्दा गरेका छन्। तस्बिरमा भग्नावशेष र बालबालिकाको शव देखिएको छ। तर पाकिस्तानी सेना तथा विदेश मन्त्रालयले भने यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यो घटना पाकिस्तानको पेशावरमा दुई आत्मघाती विस्फोटमा तीन अर्धसैनिक अधिकारी मारिएको एक दिनपछि भएको हो। पछिल्लो समय दुबै देशबीचको सीमा तनाव तीव्र बन्दै गएको छ। यसअघि अक्टोबरमा भएका झडपमा दर्जनौँको मृत्यु भएको थियो, जसलाई २०२१ मा तालिबान सत्तामा आएपछि देखिएको सबैभन्दा ठूलो द्वन्द्व मानिन्छ। त्यसयता दोहामा युद्धविराम सहमति भए पनि टर्कीमा भएको पछिल्लो शान्ति वार्ता बिना निष्कर्ष टुंगिएको थियो, जहाँ पाकिस्तानले अफगान भूमिमा सक्रिय पाकिस्तानविरोधी समूहमाथि कडा कारबाही गर्नुपर्ने माग उठाएको बताइएको छ।