पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्तामा बोलाए, नेताहरू अस्वीकार
काठमाडौँ, १२ मंसिर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई वार्ताका लागि बोलाएका छन्।
सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको छलफलपछि खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेताहरूलाई शनिबार बिहान साढे ८ बजे वार्तामा बोलाएका थिए।
तर, विशेष महाधिवेशन पक्षधरहरूले मौखिक निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेका छन्। पक्षधर नेतामध्ये गुरूराज घिमिरेका अनुसार, “पार्टीले हामीलाई अफिसियल पत्र व्यवहार गरेको छैन। हामी अनअफिसियल व्यवहारलाई सम्मान गर्छौं, तर सहभागी हुँदैनौं।”
कांग्रेसको १४औं महाधिवेशनका लगभग ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए। विधानअनुसार, यस्तो माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ। विशेष महाधिवेशनको मागको समयावधि २८ पुसमा सकिँदैछ।