ढाकामा भूकम्पपछि परकम्प, मृत्यु १० पुग्यो
ढाकाबाट — बंगलादेशमा शुक्रबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १० जनाको मृत्यु भएको एक दिनपछि शनिबार पनि साना परकम्पहरू महसुस भएका छन्। बंगलादेशको राष्ट्रिय मौसम पूर्वानुमान विभागका अनुसार ढाका नजिकै रहेको नरसिङ्दी जिल्लाको पलास सहरमा आज बिहान न्यून म्याग्निच्युडका परकम्पहरू आएका हुन्।
शुक्रबारको भूकम्प ढाका र छिमेकी जिल्लाहरूमा व्यापक रूपमा महसुस गरिएको थियो, जसले सयौँलाई घाइते बनाउनुका साथै संरचनागत क्षति पुर्याएको प्रकोप व्यवस्थापन अधिकारी इस्तियाक अहमदले एएफपीलाई बताए। विभागका टोरिफुल नेवाज कबिरका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानीको उत्तरतर्फ अशुलियामा थियो।
लगातारका परकम्पपछि स्थानीयवासी त्रसित बनेका छन्। ‘आज बिहान फेरि झट्का महसुस भयो, म अझै सुरक्षित महसुस गर्न सक्दिनँ,’ अशुलियानजिक बस्ने ४४ वर्षीया शहनाज परविनले बताइन्। उनले यति शक्तिको भूकम्प पहिले कहिल्यै अनुभव नगरेको बताइन्।
सरकारले क्षति आकलन, राहत तथा उद्धार कार्यमा समन्वय गर्न आपतकालीन सेवा केन्द्र सक्रिय पारेको छ। मौसम विभागको भूकम्प अवलोकन तथा अनुसन्धान केन्द्रका रुबायत कबिरका अनुसार १७ करोड जनसंख्या रहेको बंगलादेश भौगोलिक रूपमा भूकम्प जोखिमयुक्त क्षेत्र हो। उनका अनुसार विगत १०० वर्षयता ठूला भूकम्प नआए पनि हालैका वर्षहरूमा जोखिम बढ्दो छ।