दिल्लीबाट शेख हसिनाले भनिन् : मृत्युदण्डको फैसला पक्षपाती र राजनीति प्रेरित
काठमाडौं, १ मंसिर – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको छ। ढाकामा उक्त फैसला जारी भएपनि हसिना हाल भारतमा निर्वासनमा छिन्।
फैसलाप्रति आफ्नो प्रतिक्रिया दिँदै हसिनाले यसलाई “पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेशविनाको अदालतद्वारा जारी गरिएको” बताएकी छन्। नयाँ दिल्लीमा इन्डिया टुडेसँगको अन्तर्वार्तामा ७८ वर्षीय हसिनाले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै फैसला पूर्व निर्धारित निष्कर्ष भएको दाबी गरिन्।
हसिनाले भनिन्, “आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय स्तरको कुनै मान्यता छैन, न त निष्पक्षता। अवामी लिगका सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ भने विपक्षी दलले गरेको हिंसा बेवास्ता गरिएको छ।”
ढाकाको अन्तर्राष्ट्रिय अदालतले हसिनालाई हिंसा भड्काउने, प्रदर्शनकारी मार्ने आदेश दिने र व्यापक अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गरेको थियो। यसै क्रममा पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्ड दिइएको छ। अर्कोतर्फ, तत्कालीन प्रहरी प्रमुखलाई सरकारको साक्षी बनेकाले पाँच वर्ष जेल सजाय सुनाइएको छ।
फैसलाविरुद्ध आफ्नो असहमति व्यक्त गर्दै हसिनाले भनिन्, “विश्वका कुनै पनि सम्मानित कानुनविद्ले बंगलादेशको आईसीटी अदालतलाई समर्थन गर्दैनन्। अदालत प्रयोग गरेर मलाई हटाइएको हो।” उनले तत्कालीन अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले असंवैधानिक रूपमा सत्ता कब्जा गरेको आरोप समेत लगाइन्।
हसिनाले आन्दोलनका क्रममा भएको हिंसा र दमनको आरोप विपक्षीमाथि लगाइन्, “शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली हानियो, पत्रकारहरूलाई यातना दिइयो, र अवामी लिगका घर, व्यवसाय र सम्पत्ति नष्ट गरियो।”
अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लड्न आफू तयार रहेको बताउँदै हसिनाले भनिन्, “म प्रमाणहरूको निष्पक्ष परीक्षण हुने न्यायिक मञ्चमा मेरो मुद्दा सामना गर्न डराउँदिन।”
बंगलादेशमा आगामी फेब्रुअरी आम निर्वाचन घोषणा भइसकेको छ। चुनावअघि हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले राजनीतिक तनाव बढाएको छ भने विज्ञहरूले थप अस्थिरताको चेतावनी दिएका छन्।