नेकपा (एमाले) संगठन विभाग बैठक: महाधिवेशन प्रतिनिधि छनोटमा छलफल
काठमाडौँ, २ मंसिर। नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक मंगलबार च्यासलमा बस्यो। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टीको एघारौँ महाधिवेशनका प्रतिनिधि छनोट सम्बन्धमा छलफल गरेको हो।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू सहभागी थिए। पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, महाधिवेशनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा थप स्पष्टता ल्याइएको छ।
एमालेले प्रतिनिधि छनोट मंसिर १३ भित्र सर्वसम्मत वा मतदान प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने र १५ भित्र विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउनु पर्ने निर्णय अघि नै गरिसकेको छ। बैठकमा यसका लागि संगठन विभागका सदस्यहरूलाई आवश्यक समन्वयको जिम्मेवारी पनि तोकिएको छ।
एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि काठमाडौँमा हुने छ र पार्टी नेतृत्व अहिले त्यसकै तयारीमा केन्द्रित छ।