दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौँ – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण माग्दै यस्तो आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
प्रशासनले अनुमति नदिए पनि प्रसाईंले विरोध प्रदर्शनको धम्की दिएको भन्दै प्रहरीद्वारा सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनी पक्राउ परेका थिए।
दुर्गा प्रसाईंलाई कानुनविपरीत थुनामा राखिएको दाबी गर्दै छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अदालतको आदेशसँगै अब प्रहरीले प्रसाईंलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउनु पर्ने भएको छ।