पूर्व एमाले सचिव भरतप्रसाद दुलाल नेकपामा प्रवेश
नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयोजक तथा सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा सोमवार दुलाललाई पार्टी प्रवेश गराइएको बताइएको छ। सो अवसरमा दुलाललाई पार्टीको केन्द्रीय समितिको जिम्मेवारी प्रदान गरिएको छ।
एमालेमा दुई वर्षदेखि जिम्मेवारीविहीन बनेपछि तथा पटक–पटक जिम्मेवारी दिनेबारे भएको छलफल कार्यान्वयनमा नआएपछि आफू बाध्य भएर नेकपामा प्रवेश गरेको दुलालको भनाइ छ। लामो समयदेखि कम्युनिष्ट राजनीति गर्दै आएको उल्लेख गर्दै अहिलेको राजनीतिक परिस्थितिमा सबै कम्युनिष्ट शक्ति एउटै स्थानमा एकीकृत हुनु आवश्यक भएको कारण आफु नेकपामा समाहित भएको उनले बताएका छन्।
दुलाल दुई कार्यकाल एमाले दोलखा सचिव भइसकेका नेता हुन्। पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ अध्यक्ष हुँदै गर्दा उनी पहिलोपटक सचिव बनेका थिए। पछिल्ला दुई जिल्ला अधिवेशनमा उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए तर दुवैपटक पराजित भएका थिए।
शैलुङ गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका दुलाल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी भएका थिए।