मकवानपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं, ३० कात्तिक — मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङ्दलमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन्। वीरबहादुर मोटरसाइकल चालक थिए भने चन्द्रबहादुर पछाडि बसेका थिए।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर तल खसेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थामा रहेका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेको समयमा दुवैको मृत्यु भइसकेको थियो। एसपी बोहोराका अनुसार दुर्घटना शनिबार राति भएको अनुमान गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार मोटरसाइकल पश्चिम (सुपारेटार–ब्यारेक) बाट पूर्व (सामरी–धादिङ) तर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ र परिवारले शवको पहिचान गरेका छन्।