स्वास्थ्य मन्त्री गौतमसँग दातृ निकाय प्रतिनिधिहरूको शिष्टाचार भेट
काठमाडौं, ९ मंसिर – स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका द्विपक्षीय दातृ निकायका प्रतिनिधिहरूसँग शिष्टाचार भेट गरेकी छन्। भेटमा अमेरिकी, जर्मनी, बेलायत, जापान (जाइका) र कोरिया (कोइका)का प्रतिनिधिहरू उपस्थित थिए।
भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली सुधारमा दातृ निकायले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै मातृ–शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको जानकारी दिइन्।
दातृ निकायका प्रतिनिधिहरूले पनि नेपाल सरकारका प्राथमिकतामा रहेका जनस्वास्थ्य कार्यक्रममा आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।