विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द, स्थानीय मर्कामा
१० मंसिर, म्याग्दी । म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा विशेषज्ञ चिकित्सक अभावले शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ। ५० शय्याको क्षमतायुक्त अस्पतालमा ‘हाइड्रोसिल’, ‘एपेन्डिसाइटिस’, ‘हर्निया’ लगायत सामान्य शल्यक्रियादेखि शल्यक्रियामार्फत गरिने प्रसूति सेवा समेत रोकिएको छ।
शल्यक्रिया विभागका विशेषज्ञ डा. अशोक पन्त १ मंसिरदेखि राजीनामा दिएर गएपछि सेवा अवरुद्ध भएको हो। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नयाँ विशेषज्ञ चिकित्सक नखटाउँदा स्थिति झनै चुनौतीपूर्ण बनेको छ। यसअघि १५ कात्तिकदेखि बन्द भएको सर्जिकल डेलिभरी सेवा पनि अझै पुनः सुरु भएको छैन। करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएसँगै प्रसूति सेवाका लागि बिरामीहरूलाई बागलुङ र पोखरा धाउनुपर्ने बाध्यता थपिएको छ।
बेनीका स्थानीय दिनेश ढुङ्गानाले प्रदेश सरकारको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै समय, पैसा र जोखिम मोलेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बताए। यस सेवाबन्दीका कारण म्याग्दी, मुस्ताङ, पर्वतको जलजला र बागलुङको तमानखोला गाउँपालिकाका जनता प्रभावित भएका छन्।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई दैनिकजसो फोन गरी चिकित्सक खटाउन आग्रह गरिरहे पनि ढिलाइ भइरहेको बताए। ‘प्रतिबद्धता त आएको छ, तर चिकित्सक अझै आएका छैनन्,’ उनले भने।
अस्पताल व्यवस्थापन पक्ष पनि नेतृत्वविहीन छ। गत भदौदेखि गण्डकी सरकार मातहतका अस्पतालहरूको व्यवस्थापन समिति अध्यक्षविहीन बनेका छन्, कारण—जिल्ला समन्वय समिति प्रमुखलाई अध्यक्ष बनाउने व्यवस्था खारेज हुनु।
यसबीच, बेनी अस्पतालले हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार, हिंसा प्रभावितका लागि सेवा केन्द्र, डायलासिसलगायतका सेवा भने निरन्तर सञ्चालन गरिरहेको छ। अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाका अनुसार मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ मेडिकल अधिकृत कार्यरत छन्। वार्षिक ६० हजारभन्दा बढी सेवा लिने यो अस्पतालमा २०७४ सालदेखि सुरु भएको भवन निर्माण अझै अधुरो छ, साथै दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव ठूलो चुनौती बनेको छ।