एआईजी राजन अधिकारीसहित नेपाली टोली इन्टरपोल महासभाका लागि मोरक्को प्रस्थान
४ मंसिर, काठमाडौं । इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधि टोली शनिबार मोरक्को प्रस्थान गरेको छ। इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ देखि ११ गतेसम्म महासभा हुँदैछ।
एआईजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का पनि सहभागी छन्। महासभामा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण तथा न्यूनीकरणका नीतिगत विषयमा सदस्य राष्ट्रबीच विस्तृत छलफल हुनेछ। साथै इन्टरपोल कार्यकारिणी समितिका रिक्त पदका लागि निर्वाचन र मतदानसमेत हुने कार्यक्रम छ।
इन्टरपोलका १९६ सदस्य राष्ट्र सहभागी हुने यस महासभामा नेपालले पनि सबै मतदानमा सहभागी हुने छ। नेपाली प्रतिनिधि मण्डलले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गरी अन्तर्राष्ट्रिय प्रहरी समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाएको छ।