रसुवागढी बेलिब्रिजको निर्माण तीव्र, एक महिनाभित्र तयार हुने अपेक्षा
रसुवा, २४ नोभेम्बर – नेपाल–चीन जोड्ने रसुवागढी नाकामा निर्माणाधीन बेलिब्रिजको काम तीव्र गतिमा भइरहेको छ। दैनिक ३०–३५ जना चिनियाँ प्राविधिक टोली आधुनिक उपकरणसहित उच्च प्राथमिकतामा काममा जुटेका छन्।
गत असारमा बाढीले पुरानो पुल बगाएपछि चीनको सहयोगमा निर्माण भइरहेको सो बेलिब्रिज आगामी एक महिनाभित्र तयार हुने स्थानीय बासिन्दा र सुरक्षाकर्मीको विश्वास छ।
चिनियाँ प्राविधिक टोलीका अनुसार विकट भूगोल, असहज मौसम र खोलामा आएको बाढीका कारण काममा केही ढिलाइ भए पनि आवश्यक जनशक्ति र उपकरण परिचालन भएपछि अब निर्माण छिट्टै पूरा हुने स्थिति आएको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङले भने, “उपकरण र प्राविधिक तयारी हेर्दा डिसेम्बरसम्म बेलिब्रिज निर्माण सम्पन्न हुनेछ र दुई देशबीच आवतजावत सहज हुने छ।”