एमाले महाधिवेशन: ओखलढुङ्गामा २० उम्मेदवारद्वारा निर्वाचन प्रक्रिया बहिष्कार
काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रियामा ओखलढुङ्गा जिल्ला कमिटी नेतृत्वले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको आरोप लगाउँदै २० जनाले निर्वाचन प्रक्रिया अस्वीकार गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले निर्वाचन बहिष्कारको घोषणा गरेका हुन्।
हर्कबोल राई, शकुन्तला राजभण्डारी, पूर्व जिल्ला कमिटी अध्यक्ष तथा पूर्वमेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया विधिसम्मत बनाउन आग्रह गरे।
पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष श्रेष्ठले प्रतिनिधि छनोटका क्रममा निर्वाचन समितिले पक्षपातपूर्ण गतिविधि मात्र नगरेर केन्द्रको परिपत्रसम्म अवज्ञा गरेको आरोप लगाए।
उनका अनुसार ओखलढुङ्गाबाट १२ जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था हुँदाहुँदै केही नेताले बलपूर्वक लिस्ट टाँसेर केन्द्र, प्रदेश र पालिका कमिटीहरूको निर्देशनसमेत बेवास्ता गरेपछि पार्टीभित्र गलत प्रवृत्ति रोक्न आफूहरूले यो कदम चाल्नु परेको हो।