सर्वोच्च अदालत आजदेखि पूर्ण सञ्चालनमा फर्कियो
काठमाडौँ । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो
सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गा मुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ’, पूर्ण बैठकले भनेको थियो, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुन बमोजिम अङ्ग पुर्याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदन पत्र, दोहोर्याई पाउको निवेदन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।
जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनः प्राप्त) गरेको छ ।