कावासोतीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु र दुई गम्भीर घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गए राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कावासोती–३ की ३२ वर्षीया सुनिता जोहार्जा र कावासोती–१४ की २४ वर्षीया मीना मगरलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको पहिचान तथा खोजीकार्य जारी रहेको नायब उपरीक्षक नेपालले बताएका छन्।