विजयपुर खोलामा पुल निर्माणका कारण पृथ्वीराजमार्ग चार घण्टा दैनिक बन्द
पृथ्वीराजमार्ग आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द रहने भएको छ। पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गरिएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका अनुसार बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म सडक पूर्ण वा आंशिक रूपमा बन्द गरिनेछ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले पोखरा भित्रिने तथा बाहिरिने सवारी साधनलाई तोकिएको समयसम्म वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गर्दै आवश्यक परे ३० मिनेटमा एकपटक लाइन क्लियर गरिने जानकारी दिए। पोखराबाट विजयपुर हुँदै तालचोक जाने तथा फर्किने सवारीलाई पूर्ण रूपमा रोक्दै कार्य अघि बढाइने भएकोले ट्राफिक व्यवस्थापनमा सबैको सहकार्य अपेक्षित रहेको उनको भनाइ छ।
दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे रुट वैकल्पिक रूपमा खुला रहनेछ भने ठूला सवारीका लागि लेखनाको पावरहाउस चोक–बागमारा–बिरौट दुईतर्फी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सङ्घीय राजधानी काठमाडौंलाई पर्यटकीय राजधानी पोखरासँग जोड्ने पृथ्वीराजमार्गको स्तरोन्नति अन्तर्गत मुग्लिन–पोखरा सडक योजना दुई खण्डमा विभाजन गरी काम भइरहेको छ। जामुने–आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिएको छ भने पोखरा–जामुने पश्चिम खण्डमा हाल ५९.७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँवरले जानकारी दिए।
पोखरा–जामुने खण्डको ३८.८८ किमीसम्ममध्ये ३७.४ किमीमा एकतर्फी पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ। त्यसमा २९.६१ किमी चार लेन र ७.७९ किमी दुई लेन विस्तार पूरा गरिएको छ। पश्चिम खण्डका १२ मध्ये ११ पुल तयार भइसकेका छन् भने सेती नदीमा एक पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ।