थ्याङ्क्सगिभिङमा ट्रम्पद्वारा दुई टर्कीलाई क्षमादान
१० मंसिर, काठमाडौं । अमेरिकामा थ्याङ्क्सगिभिङ डेको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोबल’ र ‘वाडल’ नामक दुई टर्कीलाई क्षमादान दिएका छन्। ह्वाइट हाउसमा आयोजित समारोहमा ट्रम्पले गत वर्ष टर्कीलाई ‘अटोपेन’मार्फत माफी दिएको भन्दै पूर्व राष्ट्रपति जो बाइडेनमाथि ठट्टा पनि गरे।
मतदानमार्फत छानिएको गोबललाई पहिलो पटक एक्लै मञ्चमा ल्याइयो। ट्रम्प भाषण दिइरहेका बेला गोबलले बारम्बार आवाज निकाल्दा कार्यक्रममा हाँसो–मजाकको माहोल बनेको थियो।
गोबल र वाडल दुवै नर्थ क्यारोलाइनामा जन्मिएका हुन्। ह्वाइट हाउस पुग्नु अघि उनीहरूलाई भीड, बत्ती र आवाजको प्रशिक्षण दिइएको थियो र उनीहरू वाशिंगटनको एक लक्जरी होटलमा समेत बसेका थिए। अब दुवैलाई नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटीमा राखिनेछ।
टर्की क्षमादान परम्परा अब्राहम लिंकनको समयदेखि सुरु भएको मानिन्छ भने १९८९ मा राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुशले पहिलो औपचारिक क्षमादान दिएपछि यो वार्षिक परम्पराको रूपमा स्थापित भएको हो।