सरकार गैरघातक हतियार खरिद प्रक्रियामा
सरकारले सुरक्षाकर्मीलाई घातक हतियार प्रयोग गर्नुपर्ने बाध्यता हटाउन गैरघातक हतियार खरिद गर्ने तयारी गरेको छ। २३ र २४ भदौको जेनजी आन्दोलनका दौरान घातक हतियार प्रयोग भएको प्रश्न उठेपछि सरकारले वैकल्पिक सुरक्षित उपायमा ध्यान केन्द्रित गरेको हो।
संसदीय समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले गैरघातक हतियार अभावमै घातक हतियार प्रयोग गर्नुपर्ने अवस्था बन्ने भएकाले मानवीय क्षति कम गर्न नयाँ उपकरण आवश्यक परेको बताए। उनका अनुसार आत्मरक्षादेखि सार्वजनिक सम्पत्तिको सुरक्षासम्मका सबै अवस्थालाई ध्यानमा राखेर सरकार गैरघातक हतियार खरिदतर्फ उन्मुख भएको हो।
कति र कुन प्रकारका गैरघातक हतियार ल्याइँदैछ भन्ने विवरण भने उनले खुलाएनन्। तर मित्रराष्ट्रहरूको सहयोगसहित खरिद प्रक्रिया अघि बढाइने बताउँदै गृहमन्त्रीले आगामी दिनमा घातक हतियार प्रयोग घटाउने नीति अवलम्बन गरिने धारणा राखे।