इन्डोनेसियाको मस्जिदमा विस्फोटमा ५० भन्दा बढी घाइते
इन्डोनेसियाको राजधानी जकार्तास्थित एक विद्यालय परिसरमा रहेको मस्जिदमा शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन्। अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा १७ वर्षीय विद्यार्थीलाई शंकास्पद आक्रमणकारीको रूपमा पहिचान गरेका छन्।
स्थानीय समयअनुसार करिब दिउँसो १२:१५ बजे केलापा गाडिङ जिल्लास्थित विद्यालय परिसरभित्र विस्फोट भएको थियो। घाइतेहरूमध्ये अधिकांश विद्यार्थी रहेका छन्, जसको शरीरमा गम्भीर चोटपटक र पोलाइ देखिएको छ। इन्डोनेसियाका प्रहरी प्रमुख लिस्ट्यो सिगिट प्राबोवोका अनुसार शंकास्पद व्यक्ति पनि घाइते भएका छन् र घटनाको अनुसन्धान जारी छ।
घटनास्थलमा खटिएको बम निष्क्रिय पार्ने टोलीले प्रमाण संकलन गरेको र अन्य कुनै विस्फोटक पदार्थ नभएको पुष्टि गरेको छ। केही विद्यार्थीहरूले शंकास्पद विद्यार्थीलाई प्रायः साथीहरूले जिस्काउने (बुली गर्ने) गरेको र उनले घरेलु बम (ह्याम्मेड एक्सप्लोसिभ) ल्याएको दाबी गरेका छन्।
अन्य विद्यार्थीहरूले उनलाई ‘एकान्तप्रिय’ र हिंसात्मक चित्रहरू बनाउने गरेको बताएका छन्। जकार्ता महानगर प्रहरीका एक उच्च अधिकारीले घटनास्थलमा बन्दुकजस्तै देखिने दुई वस्तु पनि फेला परेको पुष्टि गरेका छन्।
प्राप्त तस्बिरहरूमा तीमध्ये एक वस्तु सब-मेसिन गनजस्तो देखिन्छ, जसमा ‘ब्रेन्टन ट्यारेन्ट, वेलकम टु हेल’ लेखिएको छ। ब्रेन्टन ट्यारेन्ट २०१९ मा न्युजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको गोलीकाण्डका दोषी हुन्।