नेपालका विद्यार्थीलाई यूएईको नक्कली कलेजमा पठाइएको, गहन अनुसन्धान सुरू
काठमाडौं, २७ कात्तिक – सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा नक्कली कलेजमार्फत नेपाली विद्यार्थी पठाउने विषयमा अनुसन्धान थालेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही कन्सल्टेन्सीहरूले नक्कली कलेजमा विद्यार्थी पठाएको उजुरी आएको र त्यसबारे थप गहन अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
मन्त्री पुनले फेसबुकमार्फत लेखेका छन्, *“यूएईमा पढ्न जाने विद्यार्थीहरू सावधान – नेपालका केही कन्सल्टेन्सीहरूले यूएईको फ्री जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेजमा विद्यार्थीहरू पठाइरहेका छन्। त्यस्ता विद्यार्थीहरूले यूएईमा समस्या भोगिरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। सो कुराको गहन छानबिन हुँदैछ। कोही पनि नफस्नुहोला।”*
मन्त्री पुनले विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्दै, यस्ता नक्कली कलेज र कन्सल्टेन्सीबाट टाढा रहन सुझाव दिएका छन्।