मानव अधिकार आयोगद्वारा सिमरा घटना सम्बन्धी सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा नेकपा एमाले र जेनजी समूहबीच भएको विवाद तथा त्यसपश्चात् उत्पन्न घटनाप्रति ध्यानाकर्षण गर्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ।
बिहीबार जारी विज्ञप्तिमा आयोगले शान्ति–सुरक्षाको स्थिति मजबुत बनाउन, आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन र सबै पक्षको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता, सहसचिव डा. टीकाराम पोखरेलका अनुसार घटनामा घाइते भएका व्यक्तिहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिइएको छ। आयोगले सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको झडपको अनुगमन गर्दै आएको छ।
विज्ञप्तिमा उल्लेख छ कि मंसिर ३ गते पूर्वनिर्धारित एमाले कार्यक्रममा सहभागिता जनाउन गइरहेका नेताहरूको सिमरा आगमन क्रममा जेनजी समूहका संयोजकहरूले फेसबुकमार्फत आह्वान गरेपछि विवाद उत्पन्न भएको थियो। झडपमा पाँच जना युवा घाइते भएका थिए। आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढ्दा एयरपोर्टको गेटमा क्षति पुगेको र उडान प्रभावित भएका कारण एमाले नेताहरू विमानस्थलमा जान सकेनन्। यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
आयोगले जनायो, “देशमा राजनीतिक परिस्थिति संवेदनशील र आगामी फागुन २१ का प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटनाले निर्वाचनको सहज वातावरण र शान्ति–सुरक्षामा गम्भीर असर पार्न सक्छ। यस प्रकारको व्यवहारले संविधानको धारा १७ मा उल्लिखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचन सरोकारवालाबीच आपसी सद्भावमा पनि प्रतिकूल प्रभाव पार्ने सम्भावना छ।”