धरानमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, एक जना गम्भीर घाइते
१२ मंसिर, धरान — धरान उपमहानगरपालिका–८ तीनकुनेमा गए राति भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन्। तीव्र गतिमा आएको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा ठोक्किँदा इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते बनेका इटहरी–५ का ३२ वर्षीय अमित राईलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ। मोटरसाइकलको तीव्र गति र अँध्यारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।