सेजमा जग्गा भाडा दर ७५% ले घट्यो, उद्योगी उत्साहित
१० मंसिर, काठमाडौं — सरकारको ताजा निर्णयसँगै विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गा भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयपछि सिमरा सेजभित्रका उद्योगीहरू उत्साहित बनेका छन्।
पशुपति सेरामिक्सका प्रोप्राइटर तुलसी रौनियारले सरकारको निर्णयलाई ‘अविश्वसनीय तर राहतदायी’ भनेका छन्। सिमरा सेजमा ९ बिगाहाभन्दा बढी (८ प्लट) जग्गा लिई उद्योग सञ्चालन गरिरहेको पशुपति सेरामिक्सले वार्षिक ७२ लाख रुपैयाँ भाडा तिर्दै आएको छ। “अब काम गर्ने वातावरण सहज हुँदै जाने छ,” रौनियारले भने।
सरकारले सेजका उद्योगीहरूलाई विद्युत्मा १०% छुट, कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट तथा बैंक, बीमा, भन्सार जस्ता सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउने व्यवस्था गर्ने घोषणा गरेको थियो। तीमध्ये जग्गा भाडा दर घटाउने निर्णय भने हालै मात्र कार्यान्वयनमा आएको हो।
रौनियारका अनुसार भाडा दर घटेसँगै निर्यातका लागि वातावरण सकारात्मक बन्दै गएको छ। “अब उद्योगीहरू सेजमा थप आकर्षित हुनेछन्,” उनले भने, “विद्युत्मा सहुलियत र बाह्य हस्तक्षेप रोक्न सके वातावरण अझै सुधारिन्छ।”
नयाँ व्यवस्था अनुसार उद्योगीहरूले अब २५% भाडा मात्रै तिर्नुपर्नेछ, जुन अघिल्लो दरको तुलनामा ७५% छुट हो।
लक्ष्मी ग्रेनाइडका सञ्चालक गुड्डु श्रीवास्तवका अनुसार भाडा कटौतीले ‘उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका उद्योगलाई ठूलो राहत’ मिलेको छ।
सिमरा सेजको ‘ए ब्लक’ मा पहिलो चरणमा बनेका ६८ प्लटमध्ये धेरैमा संरचना निर्माण भइसकेको छ। हालसम्म आधा दर्जन उद्योगले उत्पादन सुरु गरिसकेका छन्, अन्य उद्योग निर्माणमा छन्। सेजका इन्जिनियर पप्पु गिरीका अनुसार भाडा घटाउने तयारीको सूचना आएको बेला देखिनै प्लट बुकिङ गर्ने उद्योगीहरूको संख्या तीव्र रूपमा बढेको हो।
गिरीका अनुसार ‘ए ब्लक’को दोस्रो चरणमा प्लट तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ, र भारतीय तथा चिनियाँ लगानीकर्ताको आकर्षण उल्लेख्य छ।
जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा भन्छन्, “जग्गा किनेर उद्योग बसाल्ने अवस्था छैन। सेजमा ७५% भाडा कटौती हुनु उद्योगीहरूका लागि ठूलो प्रोत्साहन हो।” उनले स्थानीय तथा प्रदेश सरकारबाट सेजमा सञ्चालन भएका उद्योगमा अनावश्यक हस्तक्षेप नहुने वातावरण बनाउन आग्रह गरे।
वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले सेजभित्र प्लट लिई संरचना निर्माण नगर्नेहरूबाट जग्गा फिर्ता लिनुपर्ने बताए। “अमेरिकाले भारतीय सामानमा कर बढाएपछि भारतबाट नेपालमा उद्योग सार्न ठूलो अवसर छ,” उनले भने, “सरकारको भाडा कटौती निर्णय समयानुकूल र प्रशंसनीय छ।”
सरकारको यो कदमले सेजमा लगानी प्रवाह बढाउने र औद्योगिक वातावरण मजबुत बनाउने अपेक्षा गरिएको छ।