कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु, राजमार्ग सुचारु
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा आइतबार बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको बौनियाँ–सुखड खण्ड पुनः सुचारु गरिएको छ। बिहान करिब साढे ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय साइकल यात्री शंकर डगौराको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन्।
घटनापछि आक्रोशित स्थानीयले निष्पक्ष छानबिन र मृतकका परिवारलाई न्यायको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। केही समय सवारी आवागमन रोकिए पनि प्रहरीको समन्वयमा राजमार्ग अहिले खुलाइएको छ। प्रहरीले जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।