एसिया–प्यासिफिक क्षेत्र विश्व आर्थिक वृद्धिको ‘पावरहाउस’ : आईएमएफ
काठमाडौं – अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले एसिया तथा प्यासिफिक क्षेत्रलाई आगामी वर्षहरूमा समेत विश्व आर्थिक वृद्धिको मुख्य इञ्जिनका रूपमा रहने प्रक्षेपण गरेको छ। चीन, भारत लगायतका मुलुकहरू रहेको यस क्षेत्रले सन् २०२५ मा विश्वको कूल आर्थिक वृद्धिमा ६० प्रतिशत योगदान दिने जनाइएको छ।
आईएमएफले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणअनुसार, सन् २०२५ मा एसिया–प्यासिफिक क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुनेछ भने सन् २०२६ मा यो वृद्धिदर थोरै घटेर ४.१ प्रतिशतमा झर्नेछ।
आईएमएफको एसिया तथा प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले अमेरिकी राजधानी वासिङ्टन डीसीमा आयोजित पत्रकार सम्मेलनमा एसिया क्षेत्रको आर्थिक प्रदर्शन अपेक्षाभन्दा राम्रो रहेको बताए। उनले भने, “एसिया तथा प्यासिफिक विश्व आर्थिक वृद्धिको पावरहाउस नै रहिरहनेछ।”
उनका अनुसार, पछिल्लो समय क्षेत्रको आर्थिक वृद्धि आन्तरिक माग र क्षेत्रीय व्यापारमा निर्भर बन्दै गएको छ। विश्वव्यापी मूल्य शृंखलामा गहिरो संलग्नताका कारण एसियाली अर्थतन्त्र विश्व व्यापारमा आउने कुनै पनि झट्काबाट प्रभावित हुन सक्ने चेतावनी पनि उनले दिए।
आईएमएफले भारतको आर्थिक वृद्धिदर सन् २०२५ मा ६.६ प्रतिशत र सन् २०२६ मा ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अमेरिका द्वारा ५० प्रतिशतसम्म भन्सार वृद्धि गरिए पनि भारत सरकारले जीएसटी सुधार गरेकाले त्यसको नकारात्मक प्रभाव न्यून भएको श्रीनिवासनले बताए।
चीनको अर्थतन्त्र अपेक्षाभन्दा लचिलो देखिएको भए पनि स्थायित्वसम्बन्धी चिन्ता कायमै रहेको उनले उल्लेख गरे। अमेरिकी ट्यारिफको असर चीनमा अपेक्षाकृत कम देखिएको पनि उनले बताए।
श्रीनिवासनका अनुसार, एसियाली मुलुकबीचको व्यापारमा वृद्धि भएमा बाह्य ट्यारिफको असर कम हुनेछ र आन्तरिक मागमा आधारित वृद्धि हासिल गर्न सकिनेछ। जापान र दक्षिण कोरियामा भइरहेको कृत्रिम बौद्धिकता (AI) र प्रविधिमा आएको बूमले पनि क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।
श्रीनिवासनले एसियाली मुलुकहरूले लगानीको उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिए। "१ डलर लगानी गर्दा कति प्रतिफल आउँछ भन्ने प्रश्नमा अब ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ," उनले भने। साथै, भारतजस्ता मुलुकले व्यापार उदारीकरणमार्फत क्षेत्रीय एकीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिए।
उनका अनुसार, भारतले अमेरिकासँग व्यापार सम्झौता गर्न सके आर्थिक वृद्धिमा थप गति ल्याउन सकिनेछ।
एसिया–प्यासिफिक क्षेत्र विश्व आर्थिक वृद्धिमा अग्रणी भूमिका खेलिरहने आईएमएफको प्रक्षेपणले देखाएको छ कि आन्तरिक सुधार, प्रविधिमा लगानी, क्षेत्रीय व्यापार विस्तार, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता यस क्षेत्रको भविष्य निर्धारण गर्ने प्रमुख तत्व हुनेछन्।