गोकर्णेश्वर नगरपालिकाका मेयरद्वारा सामुदायिक कुकुर कल्याण केन्द्रमा कुकुर पूजा
यमपञ्चकको दोस्रो दिन ‘कुकुर तिहार’का अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आज सामुदायिक कुकुर कल्याण केन्द्र (Community Dog Welfare Centre) मा पुगेर सडकमा रहेका बिरामी, अशक्त र उपचाररत कुकुरहरूलाई पूजा गर्नुभएको छ।
मेयर रिसालले बिहान केन्द्रमा पुगेर कुकुरहरूलाई खाद्यान्नसहित पूजा गरेर पशुप्रति माया प्रकट गर्नुभएको हो। उहाँले सो अवसरमा उपस्थित अभियन्ता र स्वयंसेवीहरूसँग भेटघाट गर्दै नगरपालिकाले सडककुकुर संरक्षण र उपचारमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कुकुरहरूको उद्धार, उपचार र हेरचाहमा सक्रिय रहेका अभियन्ताहरूले मेयर रिसालको उपस्थितिले आफूहरूलाई थप हौसला मिलेको बताएका छन्।
कार्यक्रममा समाजसेवी आङ काजी शेर्पा, रमेश पौडेल, अनिल ज्योती लगायतका स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सामुदायिक कुकुर कल्याण केन्द्रमा गोकर्णेश्वर नगर क्षेत्रका घाइते, बिरामी र असहाय कुकुरहरूको उद्धार गरी उपचार र आश्रय दिइँदै आएको छ।