अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः ३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।
वार्ताका लागि रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत जनाएका छन् ।
स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।