नाराबाजी हुन थालेपछि बैठकबाट बाहिरिए निजी मेडिकल कलेज सञ्चालक डा. कार्की
नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठकमा तनाव सुरु भएपछि निजी मेडिकल कलेजहरूको छाता संस्था ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’का अध्यक्ष डा. ज्ञानेन्द्र कार्की उठेर हिँडेका छन् ।
संवाद चलिरहँदा नर्सहरूले प्लेकार्डसहित ‘माफिया, चोर, फटाहा’ जस्ता चर्को स्वर गर्न थालेपछि आफू सुरक्षित नभएको महसुस गर्दै उठेर हिँडेको उनले बताए ।
दुई बजेपछि राखिएको बैठकमा स्वास्थ्य सचिव, चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख थिए ।
यस्तै, गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि, नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन, आन्दोलनरत नर्सका प्रतिनिधि बैठकमा उपस्थिति थियो ।
‘मैले सरकारसँग कार्यविधि बनाएर मात्रै निर्णय गरौं भन्ने मत राखेको थिएँ,’ डा. कार्कीले भने, ‘तर तत्काल निर्णय गर्नुपर्छ भन्ने जस्तो माहाले देखियो ।’नर्सहरूको मागमा हाम्रो पूर्ण समर्थन रहेको उनको दाबी छ ।
निजी अस्पतालहरूले नर्सहरूको माग सम्बोधन गर्न तयार रहेको तर राज्यसँग आर्थिक सहजीकरणको आवश्यकता रहेको उनको भनाइ छ ।
‘राज्यले हामीलाई मेन स्टेकहोल्डरको रूपमा सोधपुछ नगरी एकतर्फी निर्णय गर्छ । हाम्रो बजेट र सरकारी स्वामित्वका संस्थाको बजेट फरक हुन्छ,’ उनले थपे । अहिले स्वास्थ्य मन्त्रालयमा अन्य संस्थाका प्रतिनिधिबीच छलफल चलिरहेको छ ।