तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले तिहारमा पटाका पड्काउनेहरूलाई कारबाही गरिने बताएका छन्। उनका अनुसार, जेन-जि आन्दोलनपछि लुटिएका हातहतियार अझै फेला नपरेकाले नागरिकमा डरको वातावरण छ। पटाका पड्किँदा मानसिक असर पर्न सक्ने भएकाले रमाइलोका नाममा पटाका नपड्काउन अनुरोध गरिएको हो।
पटाकाको आवाजले मान्छेसँगै कुकुर, पशुपन्छीलाई पनि असर गर्ने भएकाले संवेदनशील बन्न प्रहरीको अपिल छ। त्यस्तै, तिहारमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने र सवारी चलाउने कार्य नगर्न पनि सुझाव दिइएको छ।
प्रवक्ताले चाडपर्व लक्षित विशेष सुरक्षा रणनीति लागू भइसकेको र सातै प्रदेशमा निगरानी कडा गरिएको जानकारी दिएका छन्। शंकास्पद गतिविधिमा नागरिकले सहयोग गर्न अपिल गर्दै प्रहरी र सर्वसाधारण दुवै राति ड्युटीमा खटिएको पनि उनले बताएका छन्।