बालेनको अभियन्ता ईलाई जवाफ: "तपाईंलाई प्रधानमन्त्री बनाउन तयार छु"
अभियन्ता ईले काठमाडौं महानगर प्रमुख बालेन शाह, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र व्यापारी दुर्गा प्रसाईबीच ‘फेस भ्याल्यु’मा भिन्नता भए पनि व्यवहारमा खासै अन्तर नरहेको टिप्पणी गरेका छन्।
ईले आफ्नो फेसबुकमा लेखेका छन्–
‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशासहित यो भन्दै छु– केपी, बालेन, दुर्गाजस्ता पात्रहरूबीच फेस भ्याल्युमा वैचारिक भिन्नता होला, तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनसुकै हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्न सक्नेभन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, प्रत्येक मनमा गम्भीर आत्मसमीक्षा आवश्यक छ। यी केवल आम हिपोक्रिसीको ऐना मात्र हुन्।’
उक्त स्टाटसमुनि मेयर बालेन शाहले प्रतिक्रिया दिँदै लेखेका छन्–
‘८० वर्ष पुग्दासमेत आफू प्रधानमन्त्री वा अध्यक्ष बन्ने सपना देखिने देशमा, मैले ३५ वर्षकै उमेरमा तपाईंहरूलाई भनिरहेको छु– आउनुस्, देश चलाउनुस्। ई सर, सबैजना मिल्नुस्, बालेनलाई मात्र नेता नठान्नुस्। तपाईंहरू पनि लिडर बन्नुस्। म तपाईंलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउन तयार छु। सबै नयाँलाई मिलाएर ल्याउनुस्, म कार्यकर्ता बन्न तयार छु। देश मलाई नै छोड्ने हो भने पनि म बिनाएक जना मन्त्री, एक्लै देश बनाइदिन सक्छु, तर यस्तो सोचले देश बन्दैन।’
यसअघि पनि अभियन्ता ई र मेयर बालेनबीच फुटपाथ व्यापारीलाई सडकबाट हटाउने महानगरको कारबाहीका विषयमा मतभेद देखिएको थियो। सो विषयमा ईले बालेनको नीतिविरुद्ध आन्दोलनसमेत गरेका थिए।