हतारमा गन्तव्य हराउँदै: 'पुग्नुको हतार' कहिलेकाहीँ 'सकिनुको हतार' बन्दैछ
हामी किन यति हतारमा छौं? हामी सबैलाई कति हतार छ!
सूर्यलाई उदाउन र अस्ताउन पनि हतार भएजस्तै, हामी मानिसहरू किन यति चरम हतारमा छौं? हरेक बिहानी नयाँ र हरेक साँझ खास लिएर आउने प्रकृतिको गति त नियमित छ, तर आफूलाई पढे-लेखेका भन्ने हामी मानिसहरू चरम हतारको सिकार भइरहेका छौं।
के हामी आफ्नो गन्तव्य तुरुन्तै परिवर्तन गर्न खोजिरहेका छौं? के यसरी लापरबाही गर्दै सहि गन्तव्यमा पुग्न सकिन्छ? के सबै सपनाहरू एकै रातमा पूरा गर्न सकिन्छ?
गत वर्षको वाचा र वर्तमानको हतार गत वर्ष पनि हामीले 'अब गल्ती दोहोर्याइँदैन' भनेका थियौं। तर फेरि पनि जेनतेन बाँचेकाहरू हतारकै सिकार भइरहेका छन्। कतिपयले त अर्को बिहानी नआउला जस्तो गरी जीवन चलाइरहेका छन्।
जीवन छोटो भए पनि यात्रा लामो छ: हतार गर्नु जायज होला, तर अहिले हामीले गरिरहेको हतार पक्कै जायज छैन।
यसले न त हामीलाई सहि गन्तव्यमा पुर्याउँछ। न त हाम्रो अध्ययन, ज्ञान र चेतनाको महत्त्व समाजले महसुस गर्न पाउँछ। याद राखौं: धैर्यको अन्त्य र अनुशासनको ह्रासले सधैँ गलत गन्तव्य तय गर्छ।
सवारी साधनमा देखिएको चरम लापरबाही आज बिहानका यात्रुबहाक सवारीसाधनहरूको अवस्था बुझ्न नसकिने छ। चालकहरू हिजोको घाटा उठाउन दौडिरहेका छन्, उनीहरूमा मर्ने डर हिजो नै हराइसकेको छ।
कहीं हामी पनि छिटो पुग्ने बहानामा गलत यात्रा गरिरहेका त छैनौं? छोटो बाटो र छिटो पुग्ने बहानामा अहिले सवारी दुर्घटना बढ्दै छन्। हामी पनि पुग्नुभन्दा पनि सकिनुकाे हतारमा त्यही बाटो रोजिरहेका छौं। हामी जसरी प्रहरीलाई छल्दै छौं, त्यसरी नै आफैंलाई सबैभन्दा ठूलो जोखिममा पार्दैछौं।
प्रहरीप्रति किन आक्रोश?
एकछिन सोचौं- जब प्रहरीले सवारी रोक्छन्, हामी किन उनीहरूप्रति आक्रोश देखाउँछौं? के ती प्रहरीले हामीलाई रोक्दा हाम्रो जीवन नै बचाइरहेका छैनन् र? ट्राफिक नियम पालना गराउँदै उनीहरूले लाखौंको जीवन जोखिमबाट जोगाइरहेका छन्।
निष्कर्ष: धैर्य गरौं, गन्तव्य सुनिश्चित छ
प्रिय मन, यसरी हतार नगर। गन्तव्य परिवर्तन गरेर कहिल्यै नफर्कने बाटोमा पुग्न सक्छौं। केही समय काम ढिलो गर्दा पनि जीवन रोकिने होइन। धैर्य गर, अनुशासनमा रहन सिकौं। हाम्रो गन्तव्य सुनिश्चित छ। अन्तिम प्रश्न: पुग्नुको हतार कहिलेकाहीँ सकिनुको हतार बन्न सक्छ। जति फुर्सद शवलाई हुन्छ, त्यति फुर्सद जिबित मानबलाइ किन छैन?