दक्षिण कोरियामा एपीईसी सम्मेलनअघि सी–ट्रम्प भेटवार्ता हुने
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनअघि दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । सी र ट्रम्पबीच ३० अक्टुबरमा दक्षिण कोरियामा भेट हुन लागेको हो ।
३१ अक्टुबरदखि १ नोभेम्बरसम्म दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा भाग लिन आउने क्रममा दुई नेताबीच भेट हुने बताइएको हो ।
लामो तनावका बीच सी र ट्रम्पबीच भेटवार्ता हुन लागेको हो । सम्मेलनको अघिल्लो दिन दुई नेताबीच भेट हुनेछ ।
पछिल्ला दिनमा चीन र अमेरिकावीच तनाव बढ्दो क्रममा छ । अमेरिकाले चिनियाँ सामानमा भन्सार कर बढाएपछि चीन आक्रोशित छ । सोही कारण दुई मुलुकबीच तनाव कम हुन सकेको छैन । त्यसैले, अहिलेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसबाट सार्वजनिक भएका सूचनाहरूअनुसार, दुई नेताबीच व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालमा चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट गर्दै छन् ।
युक्रेन युद्धको सन्दर्भमा केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्याल्दिमिर पुटिनबीच भेट हुने भनिएको थियो । हंगेरीको राजधानी बुडापेस्टमा हुने भनिएको वार्ता अचानक रोकिएको छ । युक्रेन युद्ध रोक्नका लागि उक्त वार्ता हुने भनिएको थियो । वार्तामा युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले आफूपनि सहभागी हुनुपर्ने माग गरेपछि वार्ता अन्योलमा परेको हो ।