संसद् विघटनविरुद्ध अदालत जानेबारे दलहरूसँग छलफलमा सभामुख
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बुधबार बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाइएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा र जनमत पार्टीका प्रमुख सचेतकलाई बैठकमा बोलाइएको अधिकारीले जानकारी दिए ।
‘प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख र संसद सचिवालयले न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्न लाग्नुभएको हो,’ अधिकारीले भने । यसअघि सभामुख घिमिरेले कानुन व्यवसायी र संविधानविद्हरूसँग पनि अनौपचारिक छलफल गरिसकेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सुशीला कार्कीले भदौ २७ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । सोही सिफारिसमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।