अदालतको फैसलाअघि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले अचानक देश छाडे
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाडेका छन् । उनले देश छाडेको पाँच दिनपछि अदालतले उनलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ ।
उनको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो । अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो ।
थाक्सिनले एक्समा उनी मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेखेका छन् । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उनले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताए ।
थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आएका थिए । उनले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गरे ।