जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम चरणमा
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक बर्दियाको राजापुर सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकमा पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुंगाएको छ ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थिति बसेको थियो । रेसम चौधरीले दुई पार्टी बिचको एकता अन्तिम चरणमा पुगेको बताए।
उनले भने, ‘हामीले बैठकमा पार्टी एकताका लागि सैद्धान्तिक रूपमा धेरै विषय टुङ्ग्याएका छौँ, अब छिटौँ एकता हुन्छ।’ अहिले डा.राउत पनि बर्दियाबाट फर्किएका छन् भने चौधरी निवासतिर लागेका छन् । अब केही समयपछि कार्यदल बैठक बस्दैछ ।
विभिन्न चरणको छलफलपश्चात् एकताका लागि आज दुई दलको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको जनाइएको छ।
पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ। दुवै दलबाट ५०÷५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिनेछ। चौधरीले कार्यदलको बैठकबाट आएका विषयमा अझै छलफल गर्ने बताए । उनले यो विषय वैशाख ५ र ६ गते बस्ने पार्टी केन्द्रीय समिति बैठकले औपचारिक रूपमा टुङ्गाउने समेत जानकारी दिए । वैशाखको दोस्रो हप्ताभित्र दुई पार्टीबिच एकता हुने सम्भावना रहेको उनले बताए ।