सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई स्वीकृत गरिएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन पेस गरिएको छ ।
सामाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले उक्त प्रतिवेदन पेस गरेका थिए । संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञ सभाको सङ्ख्या साबिकको भन्दा थप गरिएको छ ।
यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकास मन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य नरेशकुमार शाहीले पुस महिनामा गएको भूकम्पका कारण बाजुरालगायतका जिल्लामा प्रभावित परिवारलाई सरकारबाट राहत सहयोग उपलब्ध नभएकाले तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराए ।