टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा हस्ताक्षर
टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।
त्यसैगरी विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।
यसअघि२०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो।
राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए। सोही अनुसार २०७६ पुसमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि नेपाल आएको थियो ।
काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई करिब चार किलोमिटर हुने अनुमान छ ।