राष्ट्रपति पौडेलसहितको जम्बो टोली आज स्वीजरल्याण्डको जेनेभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार साँझ स्वीजरल्याण्डको जेनेभा जानुहुने भएको छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ जेनेभा जानुहुने भएको हो ।
राष्ट्रपति पौडेलले यहि जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँले जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने भएको हो ।
त्यस्तै, राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने भएको छ । उहाँले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको जनाइएको छ ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल, प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीजरल्यान्ड, जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने भएका छन् ।
राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको हो ।