विश्व दूध दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नारासहित शनिबार नेपालमा पनि विविध कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदैछ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन शुरु गरेको हो। नेपालले पनि सन् २०११ देखि सोही दिवसलाई मनाउन थालेको हो ।
सोही दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व, विभिन्न सरोकारावाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवन सम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्नका लागि शनिबार कार्यक्रम हुने भएको छ ।
७ वटै प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र र जिल्ला दुग्ध उत्पादक सहकारी संघ लगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो।
उहाँका अनुसार दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा देशभर २५ लाख ६६ हजार ६ सय १४ मेट्रिकटन दूध उत्पादन भएको एशोसिएसनले जनाएको हो।