कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ ।
सोही बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । कांग्रेसले सोमबार दिउँसोका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर मंगलबारका लागि बोलाएको छ । मंगलबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेश गर्न नदिने निर्णय गरेको थियो ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम तय गरिएको हो ।