समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार छ: प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू तयार रहेको बताउनुभएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा संचारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयको सम्बोधन गरेर समग्र सहकारी ठगीको छानबिन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो।
व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफूहरूको समर्थन नरहने उहाँको भनाइ छ । व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगीको छानबिन प्रभावित हुनु नहुने गरी अगाडि बढ्नुपर्ने उहाँको जोड थियो । कांग्रेसले समग्र सहकारी ठगीको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने उहाँको तर्क छ ।
यस अघि सत्ता समीकरणमा रहेको नेकपा माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगीको विषयमा छानबिन गर्ने सहमति भएको जनाइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने जनाएको हो । यहि वैशाख २८ गतेदेखि संघीय संसदको बैठक आह्वान गरिएको छ ।