प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान पनि बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बैठक बस्ने भएको हो । बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो। बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि तनाव उत्पन्न भएको हो ।
बिहीबारको बैठकमा कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संसद अवरोध गर्दै आएको छ ।
सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न आग्रह गरेपनि प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेका थिए । यता गृहमन्त्री लामिछानेले आफू संसदमा बोल्न पाउनुपर्ने माग गर्दै आउनुभएको हो। पछिल्लो समय संसदको विवादमा दलहरूबीच सहमति हुन नसकेपछि जसले झनै उग्र रूप लिन लागेको छ ।