संघीय संसदका ३ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ३ वटा संसदीय समितिको बैठक मंगलबार बिहान बस्ने भएको छ ।
जसअनुसार मंगलबार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने भएको छ ।
त्यस्तै, मंगलबार बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुने भएको हो ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि मंगलबार बिहान ११ बजे नै बस्ने भएको छ । सोही बैठकमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही, भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको हो ।