रूसमा १० तले अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु
एजेन्सी । रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार १० तले आवासीय अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि सोही भवन ढलेको हो । यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।
यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको हो । १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको र भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।
यसअघि आपतकालीन मन्त्रालयले २ जना बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको छ। बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठूलो प्वाल भएको भवन ढलेको देखाइएको बताएका हुन् । युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उनले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि १० तलादेखि भूइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताएका छन् ।
रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भवनमा टोच्का-यू टीआरसी मिसाइलको टुक्रा खसेको जनाएको हो ।