इलाम-२ को उपनिर्वाचनमा पराजित भएका रास्वपाका मिलन लिम्बुले साग पसल खोल्दै
काठमाडौं । इलाम–२ मा मंगलबार सम्पन्न भएको उपनिर्वाचनमा पराजित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले साग पसल खोल्ने घोषणा गर्नुभएको छ ।
उहाँले बुधबार सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने बताउदै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताउनुभएको हो । लिम्बुले इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको उल्लेख गर्दै इलामेली युवा मिलेर छिट्टै कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्ने बताउनुभएको छ ।
किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भइसकेको र सम्भावित बजारको समेत अध्ययन गरिरहेको उहाँको तर्क थियो । उहाँले आफ्नो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । त्यसपछि सोही व्यवसायबाट युवा पनि आत्मनिर्भर हुने उहाँको तर्क छ ।
राजनीतिलाई पेशा बनाउन नहुने बताउदै उहाँले आफ्ना लागि राजनीति सेवा, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेशा हुने उल्लेख गर्नुभएको हो । इलाम–२ मा गत शनिबार भएको उपनिर्वाचनमा रास्पाबाट उम्मेदवार बन्नुभएका लिम्बुले ५ हजार ५० मत प्राप्त गर्नुभएको छ ।
जहाँ लिम्बुको जमानत समेत जफत भएको थियो ।