विकासको मामिलामा राजनीति गर्नुहुँदैन: मन्त्री महासेठ
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ ।
ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन शनिबार गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री महासेठले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल-नेताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको उहाँले बताउनुभएको हो । दल भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने उहाँले दावी गर्नुभयो । वर्तमान सरकारले भौतिक प्रगतिको रुपमा राम्रो उपलब्धि पाउने पनि उहाँले प्रतिवद्धता गर्नुभएको छ ।
मन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दावी गर्नुभएको छ । राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्ने कुरा सत्य नरहेको उहाँको भनाइ थियो ।
पार्टीका नेताहरुलाई गाली गरेर मात्रै आत्म सन्तुष्टि लिनु भन्दा साच्चिकै विकास भएको छ की छैन भन्ने बारेमा सत्य जानकारी प्रस्तुत गर्नुपर्ने मन्त्री महासेठले बताउनुभयो ।