संघीय संसदका ३ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ३ वटा संसदीय समितिको बैठक बिहीबार बस्ने भएको छ ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बस्ने भएको हो । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही, सोही सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, बिहीबार बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजनाहरु, बुटवल–नारायणगढ सडक, नागढुंगा–मुग्लिन सडक र मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुने उल्लेख गरिएको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने भएको हो । सोही बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।