राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्ने भएको छ ।
सोही बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बिहान ८ बजे होटल याक एन्ड यतिमा बस्ने भएको हो । बिहीबारको बैठकले सरकारको १६औं ५ वर्षे योजनालाई अन्तिम रूप दिने जनाइएको छ । सोही बैठकमा राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन र आवधिक विकासका योजनामाथि छलफल हुने भएको हो ।
बैठकलाई आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औं योजनाको मस्यौदा प्रस्तुत गर्नु हुने भएको हो । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने भएका छन्।
उद्घाटन सत्र समापन भएपछि विषय क्षेत्रगत छलफलको सत्र शुरु हुने भएको हो । सोही सत्रमा १६औं योजनाको मस्यौदामा छलफल हुने भएको छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने भएका हुन् । सहभागीहरु समूहगत छलफलमा सहभागी भएर १६ औं योजनाको मस्यौदामा आवश्यक सुझाव प्रस्तुत गर्ने भएका छन् । सोही कार्यक्रमको समापन सत्रमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।
राष्ट्रिय विकास परिषदको बैठक सरकारको ५ वर्षे रणनीति बनाउन महत्वपूर्ण मानिन्छ ।