जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन, बदल्न जरूरी छ: अध्यक्ष साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हावी भएको र बदल्न जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच शनिबार भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दलतन्त्रले जनतालाई ठगिरहेको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष साहले नेपालको दलतन्त्रको शासन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ ।
दलीय शासन प्रणाली नेपालका लागि राम्रो नहुने उहाँले बताउनुभयो । देशमा मुठिभर मान्छेहरुले राज गर्ने, बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको र आफूहरुको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्नेका लागि रहेको उहाँले बताउनुभएको हो। अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको उहाँले जिकिर गर्नुभयो । जनतालाई दवाउने- जनतालाई ठग्ने प्रर्णाली लोकतन्त्र हुन नसक्ने उहाँको तर्क छ ।
अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमान्दार बनाउने काममा आफू लागेको बताउनुभयो । मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने उहाँले बताउनुभएको छ । आफ्नो दलले यहि वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि उहाँले चेतावनी दिनुभयो ।