बझाङ-१ मा आज बिहान ११ बजे सर्वदलीय बैठक बसेपछि उपनिर्वाचनको मतगणना शुरू हुने
काठमाडौं । बझाङ प्रदेशसभा-१ मा शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना आइतबारदेखि शुरु गरिने भएको छ ।
मतगणनाको कार्य शुरु गर्नुअघि आइतबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभएको हो। सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै मतगणनाको कायए शुरु गर्ने उहाँले बताउनुभयो ।
विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आइतबार बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको उहाँको भनाइ छ । मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने उहाँले बताउनुभयो ।
शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो। बझाङ प्रदेशसभा-१ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।